व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै ३ दिनको अवधिमा ५ सय पसल व्यवसायको अनुगमन् भएको छ ।


नगरपालिकाको राजस्व परामर्श समितिको योजना अनुरुप नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा वडाध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा अनुगमन् अभियान सञ्चालन भइरहेको छ । जस अन्तर्गत, पथरीशनिश्चरे १ को पथरी बजार, ४ र ९ को शनिश्चरे बजार, ५ र ६ मा पर्ने हसन्दह र ७ मा पर्ने किर्तिपूर वजार क्षेत्रका गरी ५ सय पसल अनुगमन् भएको अनुगमन् समिति संयोजक वास्तोलाले बताउनु भयो । अनुगमन्पछि स्थानीय व्यवसायीले उत्साहका साथ नगरमा दर्ता र नविकरणका लागि सहभागि भएको उहाँले जनाउनु भयो ।

पछिल्लो अवधिमा हसन्दह र किर्तिपूरमा भएको १ सय १८ पसलको अनुगमन्मा ४४ वटा दर्ता भएका र १८ वटा नविकरण भएको पाइएको छ । यसअघि वडा नम्वर १ मा भएका ३५ पसलमध्ये १५ वटा दर्ता र १० वटा अनुगमन् भएको तथ्य फेला परेको छ ।

अनुगमन्का क्रममा म्याद गुज्रिएका अखाद्य वस्तुहरु समेत केही भेटिएकाले त्यस्ता वस्तु विक्री नगर्न पनि सचेत गराइएको छ । पसलमा बोर्ड राख्ने, मुल्य सूची राख्ने सहितका सुझाव समेत दिइएको छ ।

नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको छ । व्यवसायको अवस्था र तथ्यांकका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सवै वजार अनुगमन् गर्ने योजना रहेको छ ।