७८ लाख घुस काण्डमा उपराष्ट्रपतिका छोरा पनि मुछिए, बयान लिने तयारी

काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो ।

आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ । राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए । अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ ।

न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ । विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन । उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए ।

पाठक प्रकरणमा अख्तियारले उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहलगायतसँग बयान लिन लागेको छ ।

अरुसँग पनि बयान लिइनेछ

त्यस्तै अख्तियारले राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायणसँग बयान लिँदैछ । पाँच वर्षअघि शुभनारायणले छोरी पढाउन भनेर झासँग १५ लाख लिएका थिए । उनले त्यो रकम अहिलेसम्म फिर्ता गरेका छैनन् । अख्तियारले पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानसँग बयान लिनेछ। राजपा नेता झा र मोक्तानले भिडियो बनाएर पाठकको कर्तुत बाहिर ल्याएका थिए । अहिले मोक्तान भारतमा छन् । पाठकको घुस प्रकरणको अडियो–भिडियो झा र मोक्तानले सार्वजनिक गरेका थिए । शुभनारायणले लम्बोदर र झालाई आयुक्त पाठकसम्म पु¥याएका थिए । घुस विवाद मुछिएका शुभनारायण पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन हुन् ।

यसैगरी अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसँग पनि बयान लिने भएको छ । पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेको पाइएको छ । घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एएसपी सिंह र पुनलाई प्रयोग गरेको अख्तियार स्रोतको दाबी छ ।

दीपेशकहाँ पाठकको घुस प्रकरणको विषय पुगेपछि उनी आफैंले भिडियो खिच्ने झा र मोक्तानसँग कुराकानी गरेका थिए । तर कुरा ननमिलेपछि पुनले उनीहरूसँग थप कुरा गर्न कैलाश मगरलाई पठाएका थिए । ‘पाठक घुस प्रकरणमा जोडिएका प्रत्येकसँग बयान लिइनेछ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारले राजनारायणलाई ७८ लाख बुझाउने राजपा नेता झासँग विगत तीन दिनदेखि बयान लिइरहेको छ । ‘मेरो बयान अझै सकिएको छैन’, झाले भने ।

पाठक प्रकरणमा बयान लिन धेरै समय लाग्ने देखिएको छ । सबैसँग बयान लिएपछि मात्रै आयोग परिणाम सार्वजनिक गर्ने तयारीमा छ ।

यसरी बाहिरियो घटना

पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो कुराकानीसहितको विवरण मिडियामार्फत सार्वजनिक भएपछि विवादमा मुछिएका थिए ।

घुस खुवाउने पक्षले पाठकले घुस लिएको भिडियो सुरक्षा निकाय, दलका नेता र मिडियालाई लगेर बुझाएपछि यो प्रकरण बाहिर आएको हो । पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ०७४ भदौमा उक्त घुस लिएको बताइएको छ । पाठकले घुस लिएर पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नभएको भन्दै पैसा दिने पक्षले भिडियोको खुलासा गरिदिएको थियो ।

पाठकमाथि अकुतमा पनि छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो ।

अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ । अख्तियारको मागअनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण आयोगमा पठाइसकेको छ । इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन् ।

घुस बुझाउनेलगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ । इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विषयमा न्यौपाने र दीपक भट्टराईको समूहबीच विवाद भएको थियो । १० करोड रुपैयाँ बाँड्ने विषयमा विवाद भएपछि भट्टराई समूहले जिल्ला प्रशासन कार्यालय, संसद्को शिक्षा, स्वास्थ्य समिति र अख्तियारमा उजुरी दिएको थियो । सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन, संसदीय समिति र अख्तियारमा उजुरी परेपछि छानबिन रोक्न न्यौपाने समूहले आयुक्त पाठकलाई घुस दिएको थियो । शिक्षा मन्त्रालयले पनि उक्त कलेजमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ । शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले शिक्षा स्वास्थ्य समितिको निर्देशनअनुसार कलेजको सञ्चालन मोडालिटी र आर्थिक अनियमितताको विषयमा छानबिन गरिएको बताए ।

दुई बैठक बसिसकेको छ, बैठकले कलेजसँग विवरण माग गरेको छ। गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको कलेजले सम्पत्ति बाँडफाँट गर्नु अवैध कार्य हो । त्यसैबीच अख्तियारले पाठकनिकट व्यक्तिलाई बोलाएर अनुसन्धान थालेको छ। पीएसओ, ड्राइभर बोलाएर सोधपुछ र बयान लिएको छ । उनीहरूसँग पाठक कहाँ–कहाँ जान्थे, के गर्थे भन्ने बझ्ने काम भएको छ ।

पाठककै दैनिकीबारे सबैभन्दा बढी जानकारी पीएसओ र ड्राइभरलाई हुने भएकाले उनीहरूसँग बयान लिइएको हो । घुस काण्डमा मुछिएका नापी विभाग र त्रिभुवन विमानस्थलका कर्मचारीको विषयमा पनि अनुसन्धान गर्ने भएको छ । सार्वजनिक भएको भिडियो भने अख्तियारले हात पारेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको भिडियो अख्तियारमा पुगेको छैन। अख्तियार स्रोतले भिडियो हात परिनसकेको बताएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले संविधान र अख्तियार ऐनअनुसार पाठकविरुद्ध कारबाही गर्न राय दिएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको थियो । पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अनुसन्धान अधिकृत तोकेर पाठकविरुद्ध कारबाही थालेकाले सकारात्मक मोड लिने विश्वास व्यक्त गरे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, कार्यविधिअनुसार अनुसन्धान टोलीले कारबाही अगाडि बढाउने बताए । ‘अब पाठक आयुक्त रहेनन्, उनीहरूविरुद्ध अन्य सामान्य भ्रष्टाचारीलाई गर्ने प्रक्रियाअनुसार नै अनुसन्धान र कारबाही हुन्छ’, उपाध्यायले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी