स्याटेलाइट तस्विरले देखायो, इन्डियाले बम हानेको भनिएको ठाउँमा घरहरु जस्ताको तस्तै छन्

पथरीशनिश्चरे | इन्डियाले बम हानेर ध्वस्त बनाएको भनिएको ठाउँमा भएका घरहरु अहिले पनि घरहरु जस्ताको तस्तै ठडिएका देखिएका छन् ।

स्याटेलाइटबाट लिएका तस्विरहरुको अध्ययन गर्दा इन्डियाले बम हानेर ध्वस्त बनाएको भनिएको ठाउँमा भएका घरहरु अहिले पनि घरहरु जस्ताको तस्तै ठडिएका देखिएका हुन् । इन्डियाले फेब्रुअरी २६ मा उत्तरपुर्वी पाकिस्तानको जैस ए मोहम्मद नामक संस्थाको धार्मिक पढाइ हुने विद्यालयमा बम हानेर ध्वस्त बनाएको दाबी गरेको थियो । इन्डियाको दाबी अनुसार उसले सो स्थानमा १ हजार किलो बम झारेको थियो । सो आक्रमणबाट जैस ए मोहम्मदको तालिम केन्द्र ध्वस्त हुनुका साथै ३०० भन्दा बढि शसस्त्र आतंकवादी मारिएको इन्डियाले दाबी गरेको थियो ।

तर इन्डियाले १ हजार किलो बम आक्रमण गरेको ६ दिन पछि सोही स्थानको स्याटेलाइट तस्विरहरुको अध्ययन गर्दा इन्डियाले दाबी गरे भन्दा फरक स्थिति देखिएको छ । समाचार एजेन्सी रोयटर्सले आफुले त्यहाँको हाइरिजोलुसनका स्याटेलाइट तस्विरहरु हेर्दा इन्डियाले बम हानेको भनिएको ठाउँमा घरहरु जस्ताको तस्तै ठडिएको देखेको बताएको छ ।

अमेरिकी निजी स्याटेलाइट कम्पनी प्लानेट ल्याब्सबाट प्राप्त तस्विरहरुको अध्ययनबाट आफुहरु सो निष्कर्षमा पुगेको रोयटर्सले बताएको छ । उसले सो स्थानमा कम्तिमा ६ वटा घरहरु घटना भएको भनिएको ६ दिन पछि पनि जस्ताको तस्तै रहिरहेको देखिएको बताएको हो ।

अहिलेसम्म अन्य संस्थाहरुले सो क्षेत्रको स्याटेलाइट तस्विरहरु सार्वजनिक गरिसकेका छैनन् तर प्लानेट ल्याबबाट प्राप्त स्याटेलाइट तस्विरहरुले इन्डियन सरकारले आक्रमण गरेको दाबी गरेको स्थानको तस्विरहरु भने उपलब्ध गराएको छ । ति तस्विरहरुको अध्ययनबाट देखिएको छ कि २०१८ को अप्रिलबाट नै सो क्षेत्रमा परिवर्तन भएको छैन । घरका छतहरुमा प्वाल परेको तथा पर्खालहरु भत्किएको जस्ता आक्रमणका संकेतहरु देखिएका छैनन् ।

यसले भारतिय सरकार तथा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरे अनुसारको आक्रमण भएकोमा शंका गर्ने ठाउँ प्रशस्त छ, रोयटर्सले बताएको छ ।

निशाना चुकेको हो या अरु नै केहि ?

स्याटेलाइट तस्विरहरुबाट सो क्षेत्रमा कुनै परिवर्तन नभएको देखिएको हो भने यसबाट दुईवटा अनुमान गर्न सकिन्छ, पहिलो अनुमान हुन सक्छ आक्रमणको निशाना चुक्यो । दोस्रो अनुमान हुन सक्छ, आक्रमण नै भएको थिएन ।

यसबारे जानकारी लिनु भन्दा पूर्व घटनाको विवरण एक पटक सरसर्ती हेरौँ ।

भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले पाकिस्तानी भूमिमा बम खसालिएको बताएको थियो ।

नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताएका थिए ।

भारतिय दाबी अनुसार भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए । बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका थिए । जंगलका बिचमा तालिम केन्द्र भएकाले आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका पनि कोही पनि आमनागरिक नपरेको भारतले दाबी गरेको थियो ।

तर पाकिस्तानले भारतले हतार हतार आएर केहि बम झारेर भागेको बताएको थियो । पाकिस्तानका अनुसार एकजना सामान्य घाइते भए पनि भारतको आक्रमणबाट ४ वटा सालका रुखहरु मात्रै ढलेका थिए ।

के साँच्चै निशाना चुकेको थियो ?

प्लानेट ल्याबबाट प्राप्त गरिएका स्याटेलाइट तस्विरहरुको अध्ययनबाट निशाना बनाइएको भनिएको क्षेत्रमा कुनै किसिमको आक्रमणको संकेत देखिएको छैन । ति क्षेत्रमा भएका घरहरु अहिले पनि जस्ताको तस्तै अवस्थामा ठडिएकै छन् ।

इन्डियाले आक्रमणमा कस्तो किसिमको हतियारको प्रयोग गरेको थियो भन्ने स्पष्टसँग नखुलाए पनि १००० किलो बम खसालेको दाबी गरेको छ । विज्ञहरुका अनुसार १००० किलो बम ति निशानाहरुमा खसाइएको भए पक्कै पनि त्यसले ठुलो क्षति पुर्याएको देखिने थियो ।

आक्रमण गरिएको स्थानका स्थानियवासीहरुले बताए अनुसार भुकम्प आए जस्तो गरि जमिन हल्लिएको थियो तर त्यसले कुनै मानविय वा भौतिक क्षति भने गरेन । बरु जंगल क्षेत्रमा ४ वटा सालको रुख लडाएर खाल्डो बनाएको देखियो ।

राजनीतिक प्रचारबाजी

भारत चुनावको मुखैमा छ । आउँदो मे महिनामा भारतमा चुनाव हुन गइरहेको छ । राजनीतिक जानकारहरु भन्छन् – यस्तोमा नरेन्द्र मोदीको पार्टीलाई राष्ट्रवादी हुनका लागि पनि केहि अगाडी भएको आत्मघाती बम आक्रमणको विरुद्धमा कुनै कारबाही गर्नु थियो, त्यसकै परिणामतह यो आक्रमण भएको हुन सक्छ ।

स्मरण रहोस्, फेब्रुअरी १४ मा कास्मिरको विवादित स्थानमा आत्मघाती बम आक्रमण हुँदा भारतका ४० अर्थसैनिकहरुको मृत्यु भएको थियो ।

यसैले भारत आफ्नो आक्रमणबाट हदैसम्मको ठुलो क्षति गराएको देखाउँन चाहन्छ । यसैले वास्तविक घटना के भएको थियो भन्ने जानकारी गराउँन चाहदैन ।

कास्मिर विवादको पृष्ठभुमी

सन् १९४७ अगस्टमा भारत र पाकिस्तानले बेलायती राजबाट स्वतन्त्रता पाउँदा नपाउँदै यी दुईबीच जम्मु-कश्मिर विषयलाई लिएर विवाद उत्पन्न भइसकेको थियो ।

भारत र पाकिस्तान स्वतन्त्र हुँदै गर्दा ब्रिटिश-भारतमा साढे पाँच सयभन्दा बढी रियासतहरू थिए । ती रियासतका शासक महाराजाहरू हुनेगर्थे। ब्रिटिश भारतका सरकारलाई निश्चित कर तिर्ने गरी उनीहरूले आफ्नो रियासतमा शासन गर्थे ।

भारतीय स्वतन्त्रता ऐन अनुसार बेलायती उपनिवेशले छोड्दै गर्दा ती रियासत भारत वा पाकिस्तानमध्ये कुनै एकसँग गाभिनुपर्ने भयो । कोसँग गाभिने भनेर छनौट गर्ने अधिकार भने रियासतका शासकसँग थियो। त्यस्तै अधिकार जम्मु-कश्मिरसँग पनि थियो ।

भारत र पाकिस्तान दुवै स्वतन्त्र हुँदै गर्दा कश्मिरले आफु कता गाभिने भन्ने निर्णय गर्न सकिरहेको थिएन । त्यही समयमा पाकिस्तानी क्षेत्रबाट आदिवासी सेनाले आक्रमण गर्यो । उक्त आक्रमण थेग्न नसकेपछि कश्मिरका तत्कालीन राजा हरि सिंह भागेर भारतको दिल्ली आइपुगे । भारतीय सहयोग प्राप्त गर्नकै लागि उनले कश्मिरलाई भारतमा गाभ्ने सन्धिमा हस्ताक्षर गरे । त्यो निर्णयले भारत र पाकिस्तानबीच सन् १९४७ मा युद्ध निम्त्यायो ।

युद्ध लम्बिँदै गएपछि भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कश्मिर विवादबारे प्रश्न उठायो । सुरक्षा परिषद्ले कश्मिर सम्बन्धमा निर्णय लियो जसलाई रिजोलुसन-४७ (संकल्प-४७) भन्ने गरिन्छ ।

उक्त निर्णयले कश्मिरमा शान्ति स्थापनार्थ तीन चरणको प्रक्रिया सिफारिस गरेको थियो ।

पहिलो चरणः पाकिस्तानले कश्मिरबाट आफ्ना सेना हटाउने ।

दोस्रो चरणः भारतले त्यहाँबाट क्रमबद्ध तरिकाले सेनाको संख्या घटाउँदै लैजाने ।

तेस्रो चरणः भारतले जनमत संग्रहका लागि प्रशासक नियुक्त गर्ने । उसले कश्मिरको सम्बन्धमा जनमत संग्रह गराउने ।

उक्त रिजोलुसनपछि कश्मिरमा युद्धविराम भयो तर पाकिस्तानले आफ्नो सेना हटाउन मानेन। भारतले पनि जनमत संग्रह गरेन । व्यवहारिक रूपमा भने कश्मिर विभाजित भयो ।

सन् १९५१ मा भारत शासित राज्यमा भएको निर्वाचनले कश्मिरलाई भारतमा गाभ्ने प्रक्रियामा बल पुर्यायो । भारतले उक्त निर्वाचनले जनमत संग्रहको आवश्यकता पुरा गरेको दाबी गर्यो । संयुक्त राष्ट्र संघ र पाकिस्तानले भने जनमत संग्रह हुनुपर्ने अडान राखिरहे ।

त्यतिबेला जम्मु-कश्मिरका प्रधानमन्त्री शेख अबदुल्लाह थिए । उनी शेर-ए-कश्मिर (कश्मिरका सिंह) उपमाले परिचित थिए । सन् १९५३ मा भारत पक्षधर अधिकारीहरूले शेखले कश्मिरलाई औपचारिक रूपमा भारतमा गाभ्न ढिलाई गरेको र जनमतसंग्रहको पक्ष लिएको भन्दै अपदस्थ गरे। शेख पक्राउ परे ।

सन् १९५७ मा भारतको संविधानले जम्मु र कश्मिरलाई भारतकै भूभागको रूपमा स्थापित गर्यो ।

जम्मु-कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच नोकझोक भइरहँदा चीन पनि उक्त भूभागको विवादमा संलग्न थियो । सन् १९५०को दशकमा पूर्वी कश्मिरमा चिनियाँ पक्षले अड्डा जमाइसकेको थियो । उक्त भूभागलाई अक्साई चीन पनि भनिन्छ । सन् १९६२ मा चीन-भारत युद्धको एक कारणमध्ये यो भूभाग पनि थियो ।

विद्रोहको जन्म

जम्मु-कश्मिरलाई भारतमा गाभ्ने निर्णयसँगै कश्मिरलाई स्वतन्त्र राज्यको रूपमा स्थापना गर्ने प्रयास पनि शुरू भइसकेको थियो । सन् १९८७ मा यो प्रयासले औपचारिक र सैन्य रूप लियो । त्यो वर्ष जम्मु-कश्मिरमा निर्वाचन भएको थियो । सोही वर्ष भारतमा स्वाधिनता पक्षधर विद्रोहको बीउको रूपमा ‘जम्मु-कश्मिर मुक्ति मोर्चा’ (जेकेएलएफ) स्थापना भयो । भारतले पाकिस्तानले सीमापार लडाकुहरू पठाएर त्यो मोर्चा स्थापना गरेको आरोप लगायो । तर पाकिस्तानले आरोप अस्वीकार गर्यो। जे भए पनि मोर्चाको स्थापनासँगै कश्मिरमा एउटा फरक खालको युद्धको सुरूवात भयो । हिजोसम्म कश्मिर पाकिस्तान वा भारतमध्ये कसको हुने भन्ने विवाद थियो भने स्वाधिन र स्वतन्त्र राज्यको नयाँ विवाद थपियो ।

सन् १९९० मा भारतीय सेनाले कश्मिरमा सय जना प्रदर्शनकारीको हत्या गरेपिछ यो विद्रोह झनै चरम बन्दै गयो । आक्रमण र धम्कीका कारण कश्मिर उपत्यकाका हिन्दूले प्रान्त नै छोडेर भाग्नुपर्ने स्थिति आइलाग्यो । भारतले भने ‘सशस्त्र बल विशेषाधिकार कानून’ (अफस्‍पा) लागू गर्यो ।

यसरी विकास भएको विद्रोहको राजनीतिले कश्मिर आजको दंगाको अवस्थामा पुगेको छ । विद्रोहका स्वरूपले अनेकन् आयाम लिएका छन् भने भारतीय सरकारले त्यहाँ सेना थप्न छोडेको छैन । हिंसात्मक दंगाका कुनै पनि घटनामा भारतले पाकिस्तानी सरकारको हात रहेको आरोप लगाउन पनि छोडेको छैन। दंगा पनि कम भएको छैन ।

यही सन्दर्भलाई लिएर भारत र पाकिस्तानबीच सन् १९९ मा पुनः एकपटक युद्ध भयो । भारत प्रशासित कार्गिल जिल्लामा भएको सशस्त्र आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै प्रतिकार गरेको थियो । जसले दुई देशबीच सम्बन्ध नै विच्छेद भएको थियो ।

भारत प्रशासित क्षेत्रमा किन विवाद ?

यो क्षेत्रका धेरै जनता भारतीय शासन अन्तर्गत बस्न अस्वीकार गर्छन् । उनीहरू पाकिस्तानमा गाभिने वा स्वतन्त्र राज्य बनाउने पक्षमा छन् । भारत शासित जम्मु-कश्मिर क्षेत्रको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी जनता मुश्लिम धर्मावलम्बी हुन् । भारतमा मुश्लिम धर्मावलम्बीको जनसंख्या बहुमतमा भएको पनि यही एक राज्य हो ।

उच्च बेरोजगारी र भारतीय सुरक्षाकर्मीको चरम दबाबका कारण समस्या झनै बढ्दै गएको विश्लेषकहरूले बताउँदै आएका छन् ।

सम्बन्ध सुधारका प्रयास

भारत र पाकिस्तानबीच शान्तिको प्रयास नै नभएको भने पक्कै होइन । सन् २००१ देखि २००४ सम्मको अवधिलाई जम्मु-कश्मिरमा शान्ति स्थापनाका महत्त्वपूर्ण वर्षको रूपमा लिन सकिन्छ । सन् २००३ मा दुवै देशले युद्धविराम गर्ने सहमति गरेका थिए। त्यसको केही पछि पाकिस्तानले आफ्नो भूमिमा विद्रोही शक्तिलाई आश्रय र साथ नदिने समेत घोषणा गरेको थियो । त्यस्तै भारतले विद्रोहीहरूले सैन्य गतिविधी त्यागे क्षमादान गर्ने प्रस्ताव पनि गरेको थियो ।

सन् २०१० मा कश्मिर उपत्यकामा पुनः विरोध प्रदर्शनहरू हुन थाले । भारतीय सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गर्ने घटना पनि बढ्न थाल्यो । जम्मु-कश्मिर क्षेत्रमा हताहती हुने र बेपत्ता बनाइने घटनामा पनि कुनै कमी आएन ।

सन् २०११ अगस्टमा कश्मिरका मुख्यमन्त्री ओमार अबदुल्लाहले सेनालाई ढुंगा हान्ने बाह्र सय युवालाई क्षमादान गर्ने घोषणा गरेका थिए । त्यही साल भारतीय मानव अधिकार आयोगले भारत-पाकिस्तान बीच रहेको सीमारेखा (लाइन अफ कन्ट्रोल)मा दुई हजारभन्दा बढी नाम नखुलेका मानिसहरूको चिहान भएको सार्वजनिक समेत गरेको थियो । मानव अधिकारकर्मीहरूले ती चिहानमध्ये अधिकांश सैन्य बलले बेपत्ता बनाएका मानिसको हुनसक्ने आंकलन गरेको थियो ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेसँगै भारत र पाकिस्तानबीच सम्बन्ध सुधारको नयाँ प्रयास शुरू भएको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफ मोदीको शपथ ग्रहण समारोहमा दिल्ली पुगेका थिए ।

सन् २०१६ मा भारतको पन्जाबको पठानकोट र कश्मिरको उरीमा भारतीय सेनामाथि भएको आक्रमणले भारत र पाकिस्तानको बन्दो सम्बन्धमा पुनः गतिरोध ल्यायो ।

भारतले यो आक्रमणपछाडि पाकिस्तानमा रहेर ‘आतंकवादी’ गतिविधीमा संलग्नको हात रहेको आरोप लगायो । भारतीय प्रम मोदीले सन् २०१७ मा हुने भनि निश्चित गरिएको सार्क सम्मेलनमा भाग लिन अस्वीकार गरे । बरू भारतले उरीको जवाफमा पाकिस्तानमा ‘सर्जिकल स्ट्राइक’गरी आतंककारीलाई जवाफ दिएको दाबी गर्यो । तर पाकिस्तानले आफ्नो भूभागमा कुनै पनि प्रकारको भारतीय आक्रमण नभएको दावी गर्दै आएको छ ।

सन् २०१६ यो घटनापछि यी दुई छिमेकीबीच कुनै संवाद भएको छैन । कश्मिरमा प्रदर्शन, आक्रमण, दमन, आरोप-प्रत्यारोप र प्रत्याक्रमणको सिलसिला भने जारी छ ।
– एजेन्सीहरुको सहयोगमा ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी