पथरीशनिश्चरे, २९ माघ/
मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले हात पारेको छ ।
वडा नम्बर ७ सँगको फाइनल प्रतिष्पर्धामा ९३ रनको फराकिलो अन्तरले वडा नम्बर १ बिजयी बनेर ३० हजार नगद मेडल, ट्रफी हात पारेको छ । उपविजेता बनेको ७ नम्वर वडाले १५ हजार नगद, मेडल, ट्रफी प्राप्त गर्यो । टस जितेर ब्याटिङ रोजेको १ नम्बर वडाले निधारित २० ओभरको समाप्तिसँगै ८ विकेटको क्षतिमा १ सय ८६ रन जोडेको थियो । जसमा एमएस राईले उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्दै अविजित अर्धसतक बनाएका थिए । त्यसमा एन्जल राईले ४२ तथा दिपेश श्रेष्ठले ३८ रनको योगदान गरे ।
१ सय ८७ रनको बिजयी लक्ष्य लिएर फिल्डिङमा उत्रिएको वडा नम्बर ७ ले ओभर समाप्तिसंगै ९२ रनमा सिमित हुनपुग्यो । उबल राई, सुचन गुरुङ्ग र दिवश पुरीले समान २÷२ विकेट लिए भने विजय मगरले १ विकेट लिएका थिए । ब्याटिङका लागि मैदान उत्रिएको वडा नम्बर ७ का रोहन लिम्बू, पुकार राई र विजय मगर बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन । वडा नम्बर ७ लाई सस्तैमा समेट्ने क्रममा एमएस राईले सर्वाधिक ३ विकेट लिए भने दिपेश श्रेष्ठ, रावन राई र सागर कटुवालले समान २÷२ र बोधराज बस्नेतले १ विकेट लिएका थिए ।
प्रतियोगितामा उपविजेता टिमका विजय मगर उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने अन्य बिधामा विजेटा टिमले कब्जा जमायो । खेलको उत्कृष्ट बलर तथा फाइनल खेलको म्यान अफ द म्याचमा एमएस राई, उत्कृष्ट फिल्डरमा राकेश राई, उदियमान खेलाडीमा सागर कटुवाल, म्यान अफ द सिरिजमा राजु राई घोषित हुँदै पुरस्कृत भए ।
समापन कार्यक्रममा, वडा नम्वर १ का अध्यक्ष बाबुराम एङदेन सहितका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभयो ।
माघ २५ गतेबाट शुरु भएको प्रतियोगितामा नगरका १० वडाका १० टिमको सहभागिता रहेको थियो । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको नगर खेलकुद विकास समिति संयोजक मणि लिम्बूले जनाउनु भयो ।